लेख रचना / Article
प्रसंग.... जाति र अस्तित्वको
नरेश सुनुवार
हङकङमा पाईला टेकेको पनि थाहै नपाई दशक बितेर गोडा तीन वर्ष अरु थप भईसकेछ । व्यस्तताले मान्छेलाई साँच्चै एकोहोरो नै बनाउँदो रैछ कि क्या हो जस्तो भान भएको छ भने अर्कोतर्फ यान्त्रिक्ता होईन्छ कि भन्ने भय उत्तिकै छ । हङकङमा रहेका साथीभाई, ईष्टमित्रसँग समेत वर्षौ भेट हुन नसक्नुको कारकतत्व यही व्यस्तता नै हो । बरु नेपाल लगायत विश्वमा छरिएर रहेका कतिपय मित्रजनहरूसँग टेलीफोन वा बिजुलीपत्रको माध्यमबाट भेटवार्ता गरिरहेको छु । यस अर्थमा आजको यो एक्काईसौं शताब्दिको उत्तरआधुनिक साईबर दुनियाँ तथा विश्वग्राम जे भनैं, भूगोलको कुना कुनामा पसेका साथीहरूसँग भेट्ने मौका जुराई दिएकोमा सलाम गर्छु यो साईबर युगलाई । हुन त यसका कतिपय नकरात्मक पक्षहरू पनि छन् र अविवेकीहरूको लागि यो एक प्रकारले बाँदरलाई लिस्नु सावित भएको छ । तर अरुले के गरे के गरेनन् तेतापट्टी जान्न बरु म चाहिँ जतिसक्दो यस प्रविधिबाट प्राप्त हुने सकरात्मक र उपयोगी कुराहरूको फाईदा उठाउन चाहन्छु र उठाई रहेको पनि छु ।
म हङकङमा काम सुरुगरेदेखि दिनमा सरदर १२ घण्टा खट्दै आईरहेको छु । यसको अतिरिक्त अन्य गतिविधिलाई ७ घण्टा खर्चेर करिव ५ घण्टा जति सुत्छु । कोठाबाट नित्यकर्म गरी पूर्ण तयारी भएर कार्यस्थलसम्म पुग्न र जागिर पछि कोठा पुगेर नुवाईधुवाई गरी खानपिनसम्मलाई लगभग ४ घण्टा समय खटाउनु पर्ने हुन्छ र बाँकि रहेको ३ घण्टा समयलाई अरु सामाजिक देखि लिएर अन्य व्यक्तिगत गतिविधिको लागि बाँडफाँड गर्नु पर्ने हुन्छ । समयको महत्व यति बेला थाहा लाग्छ र नेपालमा क्यारेमबोर्ड र गोलखाडी खेलेर समय बिताउने साथीहरूको याद आउँछ, यदि त्यो समयलाई न्यूनतम मूल्य तिरेर किन्न पाएपनि हुन्थ्यो जस्तो लाग्छ । तर के गर्ने त्यताको वातावरण र पद्धति नै त्यस्तो छ ।यद्यपी मेरो परिप्रेक्षमा भन्ने हो भने म नेपालमै रहँदा पनि त्यसरी क्यारेमबोर्ड र गोलखाडी खेलेर समय बिताउने मौका कहिल्यै पाईनँ । उल्टै दिनमा १८ घण्टा खटेर काम गर्थे । त्यो कुराले चाहिँ नेपालमा बस्दा नै जानी नजानी मैले पनि समयको उचित उदुपयोग गरेको रहेछु जस्तो लाग्छ ।
हिजो आज म हङकङमा समयलाई चोर्ने तिर लागेको छु । जस्तो १२ घण्टे जागिरमा लगभग २ घण्टा समय चोरेर विश्वग्राममा रहेका साथीहरूसँग भेटघाट र बिजुलपत्र आदनप्रदान गर्ने गरेको छु । तर यो कुरा मेरो कम्पनीले थाहा पायो भने मेरो जागिर सफाचट हुन्छ । तथापी खतरा मोलेर भए पनि केही समय कम्प्युटरमा बस्छु र बगैंचा डटकमलाई पानीहाल्ने गोडगाड गर्ने काम पनि त्यतिबेलै सिध्याउँछु । कम्प्युटर खोल्नु मात्र पर्छ बिजुली पत्र यति धेरै चाङ लागेको हुन्छ प्रत्येकलाई खोलेर हेर्ने हो भने दिन नै बित्ने हुन्छ । त्यसैले म महत्वपूर्ण पत्रलाईमात्र तत्काल हेर्ने र बाँकीलाई चाहिँ फुर्सद भएको खण्डमा हेर्ने गर्छु ।
एक दिनको कुरा हो, बिजुलीपत्र फुकाउने क्रममा जर्मन देखि डा. लाल रापचाले भेज्नु भएको पत्र खोलेर त्यहाँ लेखिएका शब्द र वाक्यहरूलाई ससर्ति हेरेँ । उहाँले सुनुवार जातिसँग जोडिएर समस्याको रुपमा देखा पर्दै आएको केही सम्वेदनशील विषय जस्तो नैना सुनार (सुनुवार ?) र त्यसभन्दा अलि फरक विषय कुलदीप हुनुपर्नेमा (फुलदीप) भएको आदि बारेमा केही सवाल उठाउनु भएको रहेछ । यो पढेपछि केही तर्क वितर्क खेल्न थाले मेरो पनि मानसपटलमा र म एक्कासी आजभन्दा २ दशक पछिको परिघटनालाई संस्मरण गर्न पुगेँ । त्यस बखत पुर्वक्षितिज नामक एक पत्रिकाले सुनुवारलाई दलित हो भनेर नलेखि दिएको भए र त्यो पत्रिका म र मेरा समकालिन मित्र टंकराज सुनुवार (हाल अमेरीका) र मोहन कुमार सुनुवार पनि (हाल अमेरीका) ले नपढि दिएको भए सायद सुनुवार सेवा समाज तत्काल स्थापना हुने थिएन होला र फलतः सुनुवारहरूले आफुलाई सुनुवार नभनी टीका, महेश र लालहरूले मुलिचा, कोर्मोचा र रापचा लेखे जस्तै अरुले पनि त्यही गोरेटो पच्छ्याउँन विवश हुनुपर्ने थियो होला र सुनुवार भनेको को हुन् ? यिनीहरू कहाँ बस्छन् ? यिनीहरूको चिनारी के हो ? आदि जस्ता पहिचान र अस्तित्व कसैले बुझ्ने र जान्ने मौका पाउँने थिएनन् होला जस्तो लाग्छ । यसर्थ विगतको त्यो महत्वपूर्ण दिनदेखी आजसम्मका परिघटनाहरूलाई नियाँल्दा त्यस बखत सुनुवारको पुलिन्दा बोकेर जे जति दुःख गरियो राम्रै गरिएछ जस्तो लाग्छ र बेलाबेला एक प्रकारले आनन्दनुभूति महसुश हुन्छ । यसरी वि.सं. २०४३-४४ सालदेखि आफ्नो जातीय अस्तित्वको लागि निरन्तर खट्दै र थेग्न नसक्नेसम्मका भारहरू समेत काँधमाथि राखेर संघर्ष गर्दै आएको यो स्तम्भकारको सामु रापचाजीहरूको यस्ता सवालहरू उठीरहँदा एक प्रकारले खुशी लागेको छ र दुःख पनि । खुशी यस मानेमा कि ढिलै भएपनि कोईचँहरूको कटमिरे गिदीमा अलिकति भएपनि चेतना जागेकोमा र दुःख यस मानेमा कि हामी अझैपनि सतहमा नै लुटपुटी रहेका छौं र एक स्पेटसम्म पनि माथि उठ्न सकिरहेका छैन रहेछौं भनेर ।
पूर्वक्षितिज काण्डबाट सुरु भएको सुनुवार सेवा समाजले कक्षा ६ को पाठ्य पुस्तक, अभिनेत्रि गितान्जली सुनार (सुनुवार ?) उपन्यासकार देश सुब्बाले अपमान उपन्यासमा सुनुवारहरूलाई दलित भनि लेखेको घटना हुँदै नैना सुनार (सुनुवार ?) प्रकरणसम्म आईपुग्दा सुनुवार सेवा समाज र त्यससँग आबद्ध महोदयहरूले के गरि रहेका छन् ? पन्चेको पालामा स्थापना भएको सुनुवार सेवा समाज प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आई पुग्दा ऊ के कस्तो सोंच र तयारीमा जुटीरहेको छ ? आफूलाई मात्र खाँटी किरात भन्ने र ठान्नेहरूले किरात शब्दलाई पन्छाएर वानमा प्रवेश गर्ने पूर्ण तयारीमा जुटीरहँदा सुनुवारहरूको नाईके भनाउँदाहरू के सोँचीरहेका छन् ? के हामीहरू निम्न स्तरका विषयहरूमा सवाल उठाउँदै बस्ने कि समाधान र विकासको अवधारणा पनि ल्याउने ? मलाई लाग्छ अब हामीले अलि गहकिलो विचार र नयाँ अवधारणा लिएर सतहभन्दा माथि उत्रिनु पर्यो । प्रश्न पुनः दोहोरीन्छ- की सुनुवार समुदाय साँच्चै नेतृत्वविहीन र विचारविहिन भयो ? की नेतृत्व प्रदान गर्नसक्ने मान्छे नै नजन्मेका हुन् हाम्रो समाजमा ? के सुनुवारको सोँचमा कहिल्यै परिवर्तन र विकास नहुने हो त ? यावद सवालहरू छन् यहाँ । आफूलाई टाठाबाठा र जान्नेसुन्ने हुँ भनिठान्नेहरूले सिङ्गो सुनुवार समाजलाई हाँक्न र सिङ्गो समुदायलाई परिचालन गर्न सक्नु पर्यो, जसबाट हाम्रो प्रत्येक क्षेत्रमा विकासको बाटाहरू खुल्दै जान सकोस् । तर सिमित शब्दहरूमा तर्क वितर्क र बहश गरेर बस्नु भनेको समय बर्बाद गर्नु हो ।
डा. लाल रापचाले उठाउँनु भएको एउटा सवाल हो कुलदीप हुनुपर्नेमा टाईपिस्टको गल्तीले (फुलदीप) हुन गएको त्रुटी । यसलाई टाइपस्टिले गलत टाइप गरेको मान्न सकिन्छ र यसलाई सच्च्याँउने काम त्यससँग सम्बन्धित नियकाएको कर्तव्य हुन आउँछ । तर यसैलाई विषय बनाएर मैदानमा बहश चलाई रहनु त्यति उचित र उपब्धिमूलक नहोला । त्यसो त डा. रापचा स्वयं कुलदीप ट्र्रस्टका सल्लाहकार हुन् ।
अर्को विषय हो नैना सुनार (सुनुवार?) । यस विषयमा भन्नुपर्दा मृतक नैना र समग्र पाठकवर्गको कुनै गल्ति देखिएन । यदि गल्ती छ भने पक्कै पनि लेख्ने पत्रकार वा लेखन्दासको गल्ति हुनुपर्छ र यसलाई अल्पज्ञानको उपज तथा पित पत्रकारीताको नाङ्गो रुप मान्न सकिन्छ भने पूर्वग्रहि र संकीर्णताको परकाष्ठा । यस्ता अल्पज्ञानी, संकिर्णताले ग्रसित र नाममात्रको लेखन्दासहरूको ठूलो भिड छ हाम्रो नेपाली समाजमा । बरु मलाई डर लागिरहेको छ कतै तपाईहामी पनि त्यस भिडमित्र लाईनमा उभिरहेका त छैनौं । म यस लेखको माध्यमबाट के भन्न चाहान्छु भने आफूलाई लेखक ठान्ने लेखन्दास महोदयहरूले अरुले लेखेको पुस्तक, सुचना र सम्दर्भ सामाग्रीलाई मात्र मूल आधार नमानेर सम्बन्धित ठाँउमा पुगेर हेरेर महसुस गरेर गहिरो अध्धयन, खोज र अनुसान्धन गरेर कमसेकम वास्तविकताको नजिक पुगेर विवेकले सहि कुरा लेख्नेहोस्, सम्प्रेषण गर्नुहोस् र पाठक सामु पुर्याउनु होस् । नत्र यस्ता घटनाहरू पुनरावृत्ति भै रहने छन् र समाजमा गलत सन्देशहरू प्रवाह भै रहने छन् ।
सुनुवारको परिप्रेक्षमा भन्नु पर्दा सुनुवार जाति भनेको किरात हो र (सुनार) भनेको आर्यन मूलका दलित जाति हो भन्ने कुरा लेखेर, बोलेर वा विविध माध्यमहरूलाई प्रयोग गरेर प्रष्ट रुपमा बुझ्न र बुझाउन सक्नु पर्दछ न कि सुनुवार भन्ने बितिक्कै यिनिहरू किरात हुन भन्ने शन्देस प्रत्येक जनमानसमा ज्ञातब्ध हुन सकोस्। जातित्वलाई भजाएर कसैले गलत काम गर्छ र गलत सन्देश प्रवाह गर्छ भने त्यसको खण्डन गर्नै पर्छ, तरिकावद्धले विरोध गर्नैपर्छ । जिज्ञासाको लागि धेरै धन्यवाद डा. रापचालाई । अर्को लेखमा पुनः भेटौंला ।